खेलकुद शीर्ष खबर

सिजनको पहिलो गोल्ड कपको उपाधि चर्च ब्वाइजलाई

Church Boys with Troffee

हरि कटवाल

सुरुङ्गा, असोज ११ । सशस्त्र प्रहरीको एपीएफलाई सडन डेथमा हराउँदै झापाको शिवसताक्षी नगरपालिकामा भएको दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले हात पारेको छ ।

एपीएफलाई ८–७ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले यो सिजनको पहिलो उपाधि हात पारेको हो ।

उपाधि जितेसँगै चर्च ब्वाइजले ३ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण(पत्र हात पारेको छ भने एपीएफले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

पहिलो हाफको २८ औं मिनेटमा एपीएफका लागि सन्तोष श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले चर्च ब्वाइजका तीन जना खेलाडीलाई बिट गर्दै पोष्टको सेकेण्ड बार च्याप्दै गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एपीएफका हरि कार्कीले गोल गर्दै २(० को अग्रता कायम गरे । उनले सन्तोष श्रेष्ठको पासमा बललाई जाली चुमाएका थिए ।

पहिलो हाफमा २–०ले पछि परेको चर्च ब्वाइज दोस्रो हाफमा लयमा फर्कियो । दोस्रो हाफको १२ औं मिनेटमा चर्च ब्वाइजका कप्तान वर्षात गुरुङले रिबाउन्स बललाई सदुपयोग गर्दै गोल गरेर एपीएफसँगको अग्रतालाई साँघुरो पारेका थिए ।

३४ औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी अजय मार्टिन केले रिबाउन्स बललाई पोष्ट दिशा दिलाए । निर्धारित समयभित्र २-२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा एपीएफका कप्तान समेत रहेका मिलन राईको प्रहारलाई चर्च ब्वाइजका गोल रक्षक बाबु मगरले बचाए । एपीएफका सुदिप शिखाकार, राजु नगरकोटी, सरोज कोइराला र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो ।

चर्च ब्वाइजका दिपेश श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो । चर्च ब्वाइजका वर्षात गुरुङ, अजय मार्टिन, जङ्बु शेर्पा र छिरिङ गुरुङले गोल गरेका थिए । टाइब्रेकरमा समेत ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।

सडन डेथमा एपीएफका रुपबहादुर लामाको प्रहार बारमा लागेर फर्किएपछि उपाधि चर्च ब्वाइजको पोल्टामा पर्‍यो । सडन डेथमा एपीएफका शिवराम गिरी, युवराज खड्का र श्याम नेपालीले गोललाई पोष्टको दिशा दिएका थिए भने चर्च ब्वाइजका विशाल गुरुङ, सुरज राई, अल्बा मेसी र पिटर सेगुनको प्रहार गोलमा परिणत भएको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच विजयी टिमका छिरिङ गुरुङ घोषित भए । उनले नगद ५ हजार पाए ।

खेलमा सर्वाधिक गोलकर्ता एपीएफका युवराज खड्का घोषित भए भने म्यान अफ द टुर्नामेन्ट चर्च ब्वाइजका कप्तान वर्षात गुरुङ भए । खड्काले खेलमा व्यक्तिगत ३ गोल गरेका थिए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ६ सहित ८ टिमको सहभागिता रहेको थियो ।

खेलको समापन कार्यक्रममा आपूर्ति मन्त्री शिवकुमार मण्डलको प्रमुख आतिथ्य रहेको थियो ।

Comments

comments

Stay Connected with Us