झापा अनलाइन विशेष पर्यटन फोटो समाज

घुम्न जाने हैन सतासीधाम ? (स्थान परिचय र फोटो फिचर)

अनिल यादव

खोलाको चिसो हावा । चारैतिर हरियाली । छेउमा मन्दिर । मनमोहक झरना । अनि त्यसको छङ्छङ् आवाज । गर्मीलो तराईंमा यस्तो वातावरण विरलै भेटिन्छ । झापाको झिलझिलेबाट पाँच किलोमिटर उत्तर बाक्लो जंगल बीचमा रहेको सताक्षीधाम सधै शीतल हुन्छ ।

 मन्दिरभित्र घाँटीमा गोमन सर्पले बेरिएका दिगम्वरेश्वरको मूर्ति छ। अहिले त्यहाँ सताक्षी माताको सुन्दर मन्दिर पनि बनाइएको छ। 

सताक्षीधाम ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको तीर्थस्थल। त्यहाँको हरियो वन, गुफा, ढुङ्गा, मठ–मन्दिर, झरना आदिले धेरैको मन लोभ्याउँछ । ‘तिर्थालुलाई यहाँ धार्मिक वातावरण छ भने घुम्न आउनेका लागि शान्त प्रकृति,’ सताक्षीधाम मन्दिर विकास समितीका अध्यक्ष प्रसाद सुब्बा भन्छन्, ‘त्यसैले यो धाम धेरैका लागि उत्तम गन्तव्य हो । ‘

सताक्षीधाम दर्शनसताक्षीधामका धेरै किंवदन्ती छन् । पूर्व सांसद समेत रहेका समितिका संस्थापक अध्यक्ष तारासम यङयाका अनुसार पौराणिक कालमा ऋषिमुनीले यहाँ तपस्या गरेका थिए । त्यसोत दूर्गा सप्तशती चण्डीमा सताक्षीदेवीको नाम र उनको वाणी नै पढ्न पाइन्छ ।

त्यस्तै महाभारत अनुसार पाँचपाण्डवहरु १२ वर्षसम्म वनवास बसी १ वर्ष गुप्तवास बस्न विराट राजाको दरबार विराटनगर जाँदा अर्जुनले आफ्नो गान्ढिव धनु र शस्त्रअस्त्र राम्रो कपडामा बाँधी सताक्षीधाम आसपास समीको रुखमा लुकाएर राखेको ‘वन पर्वमा’ उल्लेख छ । गुप्तवासका बेला पाँच पाण्डव सताक्षीधाममा बसेका थिए ।

धाममा दिगम्बेस्वर महादेवको ठूलो मन्दिरसँगै अन्य स–साना मन्दिर छन् । दिगम्बेश्वरभित्र घाँटीमा गोमन सर्पले बेरिएको दिगम्वरेश्वरको विशाल मूर्ति छ। अहिले सताक्षी माताको सुन्दर मन्दिर बनाइएको छ ।

राजमार्गबाट सताक्षीधाम पुग्न पाँच किलोमिटर लागे पनि त्यहाँबाट एक किलोमिटर उत्तरमा रहेको शिवपार्वती झरनासम्म पुग्न भने नदीको तिरैतिरबाट हिँड्नुपर्छ । झरनालाई आकाश गंगा पनि भनिन्छ । झरनासम्म पुग्ने क्रममा पाण्डव बगैँचा भेटिन्छ । जहाँ सुपारी, आँप लगायतका रुख छन् ।

रानी द्रौपदी बिरामी हुँदा औषधी पानी खुवाएर जाति भएको मानिने विरेनुनको गन्धक वासना आउने कुण्ड पनि छ । खोलैखोला हिँड्दै जाँदा द्रौपदि स्नान तलाउ देख्न सकिन्छ, शिवपार्वती विश्रामस्थल भेटिन्छ ।

तलाउभन्दा अलिकति अगाडी शक्ति पाण्डव गुफा भेटिन्छ जहाँ पत्थर चट्टानमा नागहरुको आभुषणयुक्त आकृति र गाईको दुध झरिरहेकोजस्तो आकृति देखिन्छ । त्यहाँ पुगेर भक्तजन चन्दन, अक्षता, फूल र दान चढाउँछन् ।

त्यसपछि सिद्धेश्वर शिव गुफाहुँदै झरनासम्म पुगिन्छ। जहाँ तीर्थयात्री स्नान गर्छन् । यसको उत्तरी भागमा सानो तलाउ र निर्मल छाँगो छ । त्यहाँ उभिएर एक सय फिटमाथीबाट सिधा खसिरहेको पानी नियाल्दा मन बहलिन सक्छ, बेग्लै संसारमा पुगेको अनुभूति हुन्छ ।

सक्षाक्षीधाममा प्राकृतिक कुरा त छँदैछन्, यसलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पनि समिति अग्रसर छ। विश्रामालय, बुद्ध पार्क, अतिथि गृह बनिसकेको छ । वेदशाला पनि खुलेको छ ।

दिल्लीमा गौशाला संचालन गरिरहेका गौभक्त नन्द किशोर भारद्धाज (महाराज)ले यहाँ गौशाला नै चलाएका छन् । ‘नेपालमा गौ हत्या भइरहेको थाहा पाएपछि गौ संरक्षण गर्न दुईवर्ष अघि यहाँ आएको हुँ,’ उनले भने, ‘मैले मसँगै कृष्ण भगवानले सेवा गरेको प्रजातीका केही गाईहरु समेत भारतबाट लिएर आएको छु ।’

वेदशाला पनि उनकै संयोजनमा खोलिएको । उनले भर्खरै द्धादश ज्योतिर्लिङ मन्दिर बनाएका छन् । गौ चिकित्शालय पनि खोलेेका छन् । आठ कर्मचारी गौ सेवक छन् । त्यहाँ करिब दुई सय गाई छन् ।

गौशालाको मात्र दैनिक खर्च ८ हजारदेखि ११ हजार रुपैयाँ सम्म छ । आफुले पालेको गाई बुढो भएपछि यहाँ ल्याएर छाड्नेहरु बढीरहेका छन् ।

केही वर्षपछि धामको मुहार पुरै फेरिनेमा अध्यक्ष सुब्बा विश्वस्त छन् । वर्षमा दुईपल्ट बालाचर्तुदशी र माघे संक्रान्तिका बेला मन्दिरमा ठूलो मेला लाग्छ । हजारौंको संख्यामा तीर्थालु आउँछन् ।

साउनमा बोलबम यात्रीको पनि बाक्लै भिड लाग्छ । धाम पिकनिक स्पटका रुपमा पनि प्रख्यात छ। त्यहाँ बगैंचा बन्दै छ। बुद्ध पार्कमा एक हजार विरुवा रोपिएका छन् ।

सताक्षीधामको मुख्य समस्या बाटो र बिजुली हो । सडक  कालोपत्रे गर्ने भनेको धेरै भइसक्यो तर कच्चि नै छ । सौर्य बत्ती जडान भएको छ तर, त्यो पर्याप्त छैन। सुरक्षा पोष्ट पनि खाँचो देखिन्छ ।

‘हामी जतिसक्दो चाँडो सडक कालोपत्रे गर्ने कोसिसमा छौं,’ अध्यक्ष सुब्बाले भने, ‘पर्यटकीय हिसाबले पनि यहाँ धेरै सुविधा थप्ने योजना छ । राज्यको अलिअलि सहयोग पुग्दो छैन् । अब त नगरमा मेयर पाएका छौं । सबैको सहयोग भयो भने सताक्षीधाम धेरैको रोजाईमा पर्न धेरै दिन लाग्ने छैन् ।’

स्थानीय पत्रकार अनिलदेव राई पनि सताक्षीधामलाई सम्भावनाकोस्थल मान्छन् । ‘यहाँ पर्यटकको आवतजावत बढ्यो भने धामको मात्र विकास हुँदैन स्थानीय बजारहरु झिलझिले, दुधेको मुहार पनि फेरिन्छ । आसपास व्यवसाय पनि फस्टाउँछ ।’

कसरी पुग्ने  ?

 महेन्द्र राजमार्गको झिलझिलेबाट ५ किलोमिटर उत्तरमा सताक्षीधाम ।

झिलझिलेबाट सिटी सफारी वा ट्याक्सी चढ्ने, २० मिनेटमा मन्दिर।

शीतल धाम

प्रसाद सुब्बा

अध्यक्ष, सताक्षीधाम मन्दिर विकास समिति

पौराणिक महत्व बोकेको धार्मिकस्थल सताक्षीधामको दर्शन गरेमा मनोकांक्षा पुरा हुन्छ । त्यस बाहेक प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले यहाँ घुमफिर गर्दा तन र मन दुबै चंगा बन्छ । गर्मी याममा शीतल अनि शान्त ठाउँमा मन रमाउँछ । नागरिक न्यूजबाट

Comments

comments

Stay Connected with Us