अन्तर्वार्ता झापा अनलाइन विशेष

‘केटा नाच्यो भने छक्का र केटी नाची भने छिटैै पोइला जान्छे भन्थे’

Interview with LC Shrestha

नेपाली समाजमा नृत्यलाई खुबै मन पराइन्छ । तर, त्यही नृत्य गर्ने कलाकारलाई सम्मान गर्ने परम्परा छैन । जतिबेला झापाका नृत्य प्रशिक्षक एलसी श्रेष्ठ (३१) आफैं प्रशिक्षण लिँदै थिए, त्यसबेलालाई सम्झने हो भने त्यो समयमा नृत्य गर्ने केटा मान्छेलाई ‘छक्का’ भन्थे । र, केटीलाई चाँडै ‘पोइला’ जान्छे भनिन्थ्यो । भलै अहिले त्यस्तो परिस्थिति छैन । समयक्रमसँगै यो बुझाइ फेरिँदै गएको छ । तर, अझै पर्याप्त छैन । यही सेरोफेरोमा झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष समेत रहेका नृत्य प्रशिक्षक श्रेष्ठसँग गौरव पोखरेलले गरेको कुराकानी :

झापामा नृत्य कलाकार संघले के गर्दैछ ? 
झापा जिल्ला नृत्य कलाकार संघ जिल्लाभरि रहेका नृत्य कलाकारहरुको समूह हो । मुलुकमै सबैभन्दा बढी नृत्य कलाकार भएको झापामा उनीहरुलाई संगठित गरेर उत्कृष्टलाई कदर, नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने काममा संघ लागिपरेको छ । साथै, संघले नृत्य कलाकारको व्यावसायिक हकहित र अधिकारको पक्षमा पनि वकालत गरिरहेको छ ।

यही २१ गते वार्षिकोत्सव पनि हुँदैछ । बिर्तामोडको अग्रसेन भवनमा हुने कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको प्रमुख आतिथ्यता रहनेछ । संघ २०६९ सालदेखि झापामा सुरु भएको हो । जसमा अहिलेसम्म झन्डै ५ सयको हाराहारीमा सदस्य संख्या पुगेेको छ ।

तपाईंको विचारमा नृत्य के हो ?
नृत्य साधना हो । नृत्य हेर्दा जति सजिलो र आनन्ददायी लाग्छ, गर्न एकदमै त्यत्तिकै गाह्रो र मेहनत गर्नुपर्छ । नृत्यमा धेरै नियम हुन्छन्, विधा हुन्छन् । जसलाई गहिराइसम्म बुझ्न र व्यवहारमा उतार्न तपस्या नै गर्नुपर्छ ।

नृत्य कला मात्र होइन, शिक्षा पनि हो । वास्तवमा नृत्य बाँच्ने कला हो । एउटा भनाइ नै छ नि- जो नाँच्छ, ऊ धेरै बाँच्छ । किनकि नृत्य व्यायाम पनि हो । जसलाई अहिले डान्स थेरापीको रुपमा पनि लिने गरिन्छ ।

तपाईंको नृत्य यात्राको सुरुवात कहाँबाट भयो ?
मेरो परिवारमा सबै नाच्ने । मादल बजाउने नाचिहाल्ने गरिन्थ्यो । जसले मलाई नृत्यमा प्रेरित र्गयो । विद्यालयहरुका प्रतियोगिताहरुमा नाचियो, जितियो । नृत्य प्रशिक्षण चाहिँ २०६० सालमा होलिबेल बोर्डिङ स्कुल धुलाबारीबाट सुरु गरेँ ।

अहिलेसम्म एक हजार जनालाई एकैचोटि नचाएको छु । लिटल फ्लवार्स स्कुल बिर्तामोडको एउटा कार्यक्रममा एक हजार विद्यार्थीको सामुहिक नृत्य गराएको थिएँ ।

तपाईं नृत्य प्रशिक्षक, कस्तो पाउनुभएको छ विद्यार्थीमा उत्साह ?
हाल म झापाका‌ १५ वटा विद्यालयमा नृत्य सिकाउँछु । सबै विद्यालयमा एकदमै उत्साहपूर्ण सहभागिता पाएको छु । म यही विधामा करिअर बनाउँछु भनेर सिक्नेहरु धेरै भेटेँ । जिल्लाका कतिपय विद्यालयहरुमा वार्षिकोत्सव जस्ता विभिन्न सन्दर्भलाई लक्षित गरेर नृत्यको कक्षा सञ्चालन गर्छन् ।

मैले पढाउने प्राय: विद्यालयमा भने वर्षैभरि नृत्य सिकाइन्छ । मैले सिकाएको धेरै विद्यार्थीहरुले प्रतियोगितामा राम्रो नतिजा पनि ल्याएका छन् । विद्यालयस्तरीय थुप्रै प्रतियोगिताहरु जितेका छन् । अनुजा अग्रवाल (छमछमी १), प्रताप सुनुवार (लेट मि डान्स) जस्ता उत्कृष्ट नृत्य कलाकारलाई मैले प्रशिक्षण दिएको थिएँ भन्न पाउँदा खुसी लाग्छ ।

तपाईंले नृत्य सिक्दा अनि अहिले नृत्य सिकाउँदाको अवस्था तुलना गर्नुपर्दा ?
त्यतिबेला त साह्रै अफ्ठ्यारो परिस्थिति थियो नि ! नृत्य गर्ने भन्ने बित्तिकै हेर्ने दृष्टिकोण फरक हुन्थ्यो । अभिभावकले पनि नृत्य सिक्न निरुत्साहित गर्थें । तर, अहिले परिस्थति ठिक विपरीत भएको छ । अहिले अभिभावक आफैं नृत्य सिक्न प्रेरित गर्छन् ।

विद्यार्थीलाई घरमा पनि सिक्ने वातावरण तयार गर्छन् । र, नृत्य प्रशिक्षण केन्द्रसम्म र्पुयाउन आफैँ जान्छन् । पछिल्लो समय बाक्लो रुपमा भइरहेका रियालिटी शो र नृत्य प्रतिस्पर्धाहरुले यो अवस्थासम्म समाज आइपुगेको हो । पढाई सँगसँगै नृत्य पनि एउटा विषय हो भन्ने सोचको विकास भएको छ । दुवैलाई सँगै लिएर जान सकेे जीवनमा परिवर्तन ल्याउन सकिन्छ ।

उसबेलाका प्रशिक्षक अनि अहिले आफू प्रशिक्षक भइरहँदा चाहिँ के फरक छ नि !
पहिले नृत्य शिक्षकलाई नपढेको मान्छे भनेर सोच्थे । बेरोजगार भएर नृत्य सिकाएको भनिन्थ्यो । तर, अहिले त्यस्तो छैन । पढेर दक्ष भएर नृत्य सिकाउने जमाना हो अहिलेको ।

मेरै कुरा गर्नु पर्दा पनि मैले अहिले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरबाट नेपाली लोक नृत्य प्रशिक्षक तह उत्तीर्ण गरेको छु । यो २०६६ सालमा सकेको हुँ । र, सिकाउँदा पनि लोकनृत्य मेरो प्राथमिकतामा पर्छ ।

नृत्य गर्ने धेरै महिला हुन्छन्, तर सिकाउने चाहिँ बढी पुरुष हुन्छन् नि ?
यसको एउटा कारण त महिलाको कम उमेरमै विवाह हुने र नृत्यमा पारिवारिक असहयोग हुने गरेको छ । हाम्रो समाजमा अझै विवाह गरेकी महिलाले नाँचेर हिँड्नु हुँदैन, नाचेर के पो हुन्छ र ! भन्ने सोच छ । त्यसैले विवाह अघि राम्रो नृत्य गर्नेहरु विवाहपछि हराउने गरेका छन् । यो दु:खद कुरा हो ।

नृत्यमा क्रेज बढे पनि प्रशिक्षण केन्द्रहरु चाहिँ बन्द भइरहेका छन् नि ? 
प्रशिक्षण केन्द्र नटिक्नुको प्रमुख कारण भनेकै दक्षताको अभाव हो । आफू दक्ष नभई खोलेका प्रशिक्षण केन्द्रहरु बन्द भएका छन् । अहिले नृत्यका विद्यार्थीहरु हरेक दिन नयाँ सिक्न चाहन्छन् । तर, अदक्ष प्रशिक्षकले त्यो दिन सक्दैन ।

आफूसँगको भएको कुरा उसले १० दिनमा सिकाइसक्छ, त्यसपछि के दिने ? ऊ अल्मलिन्छ । विद्यार्थी एउटै कुरा दोर्होयाएर सिक्न चाहँदैनन् र विस्तारै घट्दै जान्छन् । प्रशिक्षक भनेको विद्यार्थीभित्र भएको कलालाई बाहिर ल्याउन सक्ने हुनुपर्छ ।

उनीहरुलाई उत्प्रेरित गर्न सक्नुपर्छ । अर्को कारण हो, विद्यार्थीमा क्षणिक रहर मात्र हुनु । नृत्यका बारेमा अपडेट रहने र विद्यार्थीको रहरलाई लक्ष्य बनाउन सक्ने प्रशिक्षण केन्द्र बन्द हुँदैनन् । विवेचनाबाट ।

Comments

comments

Stay Connected with Us